सर्वोच्च अदालतमा दुई वर्ष नाघेका १७ हजार २०९ मुद्दा
काठमाडौं – सर्वोच्च अदालतमा दुई वर्ष नाघेका मुद्दाको संख्या १७ हजार दुई सय नौ पुगेको छ।
महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार २ वर्ष नाघेका मुद्दा, रिट निवेदन प्रतिवेदनको संख्या १७ हजार २०९ रहेको छ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–८०/८१) अनुसार जिल्ला अदालत तथा उच्च अदालतमा रहेका मुद्दा १८ महिनाभित्र र सर्वोच्च अदालतमा रहेका मुद्दा २ वर्षभित्र फर्स्यौट गर्ने उल्लेख छ।
यो वर्ष सर्वोच्च अदालत र मातहत अदालतहरूमा गत वर्षबाट जिम्मेवारी सरेको १ लाख ४४ हजार ५२७ समेत कुल ४ लाख ५ हजार ६९ मुद्दामध्ये २ लाख ३८ हजार २६९ फस्र्योट भएका छन्। अझै पनि अदालतमा १ लाख ६६ हजार ८०० फैसला हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय योजनाको कार्ययोजनाले २०७८/ ७९ मा ६५ प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य लिएको छ।
अदालतले बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना बनाई पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकता दिई २ वर्षमा फर्स्यौट गर्ने लक्ष्य राखिए तापनि लामो समयसम्म फर्स्यौट हुन नसकेको प्रतिवेदनमा औंल्याइएको छ।