मतदानका लागि निर्धारित समय सकियो : लाइन लागेकाले भोट हाल्न पाउने


काठमाडौं – देशका तीन जिल्लामा भइरहेको उपनिर्वाचनअन्तर्गत मतदानका लागि निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले तोकेअनुसार चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान भएको हो ।

निर्वाचन आयोगका अनुसार तीनै जिल्ला ६० प्रतिशत आसापस मतदान भएको छ । केही स्थानमा विवादबीच मतदान भएको छ । आइतवार भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुर र भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको थियो ।

कृष्णपुरमा तत्कालै सुचारु भए पनि नयाँकिरणमा भने करिब ४ घण्टा मतदान रोकिएको थियो । बिहान साढे ११ बजेदेखि रोकिएको मतदान दिउँसो ३ बजेपछि मात्रै सुचारु भएको थियो । त्यो मतदान केन्द्रमा निर्धारित समयपछि पनि मतदान हुने बताइएको छ । त्यहाँ मतदाताहरु अझै लाइनमा लागेकाले साँझसम्म मदतान हुने बताइएको छ ।

यहाँ नाराबाजी गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले माफी माग्ने सहमतिपछि अहिले मतदान जारी रहेको छ । मतदानका क्रममा बारामा छिटफुट घटना भएका छन् । केही मतदान केन्द्रमा धाँधली भएको आरोप लागे पनि त्यहाँ कुनै पनि स्थानमा मतदान रोकिएन ।

उता तनहुँमा पनि चितवन र बारामाभन्दा शान्तिपूर्ण रुपमा मतदान भएको छ । चितवन र बारामा जस्तो त्यहाँ कुनै किसिमको विवाद सुनिए । तनहुँ २ का सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सकिएको छ ।

प्रतिक्रिया