सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना, एकको मृत्यु


खाँदबारी – सङ्खुवासभाको भोटखोला-४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतक गुरुङले हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया