भारत मणिपुरमा भड्कियो जातीय हिंसा : राज्यभर कर्फ्यु, इन्टरनेट र रेल सेवा बन्द


काठमाडौं – भारतको पूर्वोत्तर राज्य मणिपुरमा हिंसा भड्किएपछि सरकारले प्रदर्शनमा उत्रिएकाहरुमाथि ठाउँको ठाउँ गोली हान्ने आदेश दिएको छ । मणिपुरमा अल ट्राइबल स्टुडेन्ट्स युनियनद्वारा आयोजित एक जन र्‍यालीबाट हिंसा भड्किएपछि प्रशासनले ठाउँको ठाउँ गोली हान्ने आदेश दिएको हो ।

प्रदेशका अधिकांश जिल्लामा अहिले कर्फ्यु लगाइएको छ । हिंसा दुई धार्मिक समूहबीच भड्किएपछि अवस्था नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवान तैनाथ भएका छन् । यसअघि सेनाले मणिपुर राज्यको पुलिससँग मिलेर कयौँ स्थानमा भड्किएको हिंसालाई नियन्त्रणमा लिएको बताएको थियो । त्यसपछि सेनाले सडकमा उत्रिए मार्च पनि गरेको छ ।

बुधवारदेखि पूरै राज्यमा मोबाइल इन्टरनेट सेवालाई तत्काल लागु हुने गरी पाँच दिनसम्मलाई बन्द गरिएको छ । मणिपुरमा हिंसा र तनाव बढेपछि पूर्वोत्तर रेलवेले अन्य राज्यबाट मणिपुर जाने सबै रेल सेवा रद्द गरेको छ ।

मणिपुर सरकारले रेल यातायात रोक्न आग्रह गरेपछि यो निर्णय लिइएको हो । एनईएफ रेलवेका मुख्य जनसम्पर्क अधिकारी सब्यसाची डेले बताएअनुसार अगरतला र खोङ्गसंगबीच चल्ने जनशताब्दी एक्सप्रेस र असमको सिलचरबाट मणिपुरको वंगाइचुङ्गपाओ स्टेशनसम्म जाने चार यात्री रेल रद्द गरिएको छ ।

हिंसा बढ्दै गएपछि चार रेल ५ र ६ मेसम्मका लागि रद्द गरिएको छ । यदि यसबीचमा अवस्था सुध्रिएर रेल चलाइनेछ । भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले सेनाले सबै सरोकारवालासँग मिलेर अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।

उनका अनुसार हिंसाग्रस्त क्षेत्रमा अहिले भारतीय वायु सेनाले सी १७ ग्लोबमास्टर र एएन ३२ जहाजबाट लगातार निगरानी उडान गरिरहेको छ । भारतको पूर्वोत्तर राज्य मणिपुरमा जनजातीय समूह र गैर–जनजातीय समूहबीच हिंसक झडप भएको थियो ।

त्यसपछि यहाँ प्रशासनले पाँच दिनका लागि इन्टरनेट रोकिसकेको छ । अहिले अवस्था नियन्त्रणमा लिन सेनाको ५५ टुकडी र र्‍यापिड एक्सन फोर्स मणिपुर पठाइएको छ । एजेन्सी

प्रतिक्रिया