आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, सफल आरोहणको ७० वर्ष पूरा


काठमाडौं – आज १६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा आरोहण भएको ७० अ‍ौँ वर्षगाँठ मनाइँदै छ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।

सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७० औं वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा तीन सय बढीको निधन भइसकेको छ।

सोलुखुम्बुकी स्व पासाङल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोहीको कीर्तिमान कायम गरेका थिए।

जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन्। सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ।

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिख)को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ। नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ दिवस मनाउँदै आइएको छ।

आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो। नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ।

प्रतिक्रिया