बैंकिङ कसुरका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

काठमाडौं – बैंकिङ कसुरको मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका ३२ वर्षीय रमेश बानिया छन्।

बैंकिङ कसुरको मुद्दामा बानियाविरुद्ध उच्च अदालत पाटनले गत चैत १८ गते पक्राउ पूर्जी जारी गरेको थियो। अदालतले पक्राउ पूर्जी जारे गरेपनि फरार रहेका बानियाँ बुधबार काठमाडौंको गौशाला क्षेत्रमा रहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट प्रहरी टोली परिचालन भएको थियो।

काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसननजिकको सडकमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा बानियाँ आफूसँग रहेको कालो झोला फालेर फरार भएका थिए।

झोला चेकजाँच गर्दा त्यसमा १ थान पेस्तोल, म्यागेजिन र ११ थान गोल फेला परेको थियो। गौशालाबाट फरार भएका बानियाँलाई प्रहरीले भक्तपुरको नयाँ ठिमीबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीले बानियाँविरुद्ध बैंकिङ कसुरका साथै हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *