नयाँ पुस्तालाई इमान्दार नेतृत्वको खाँचो छ : अध्यक्ष तिमिल्सिना
चितवन – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताएका छन् । पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचनमा आज यहाँ सम्बोधन गर्दै उनले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास गर्ने र स्वदेशमै रोजगारी दिनसक्ने नेतृत्वको खाँचो रहेको बताएका हुन् ।
समाज परिवर्तनसँगै देशले गति लिन नसक्नुले अहिलेको पुस्ता निराश बन्दै गएको उनको भनाइ छ । देशको नेतृत्व गर्नेले भोगेको भोगाइ अहिलेको पुस्ताले खासै वास्ता नगर्ने भन्दै उनले भने, ‘नयाँ पुस्ता देशको समृद्धि र न्यायपूर्ण समाजको खोजीमा छ तर परिवर्तनबाट जुन अनुभूति पाउनु पर्ने हो त्यो नहुँदा जनता विचलित हुने अवस्थामा आइपुगेका छन् ।’
राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अहिलेको पुस्ताको आवश्यकता पुरा गर्नतर्फ राज्य लाग्नुपर्ने समय आएको उनको भनाइ छ । उनले रुपान्तरणका लागि सबै लाग्नुपर्ने बताए । जिम्मेवारीमा रहेका नेताको त्याग महत्वपूर्ण भए पनि त्यागअनुसारको आम नागरिकलाई अनुभूति दिलाउन नसक्दा जनतामा निराशा छाएको उनको भनाइ छ ।