खुदी खोलाले बगाउँदा १२ वर्षीया बालिका बेपत्ता

बेसीशहर – लमजुङमा खुदीखोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। मर्स्याङ्दी गाउँपालिका–३ स्थित खुदी खोलाले बगाउँदा सोही वडाको पुरानो खुदीबजारकी १२ वर्षीया रोशनी तामाङ लामा बेपत्ता भएकी हुन्।

लामालाई पौडी खेल्ने क्रममा दिउँसो ४ बजेतिर खोलाले बगाएको प्रहरीले जनाएको छ। उनीसँगै १३ वर्षीया बबिता तामाङ र १३ वर्षकै आशा न्यौपाने पनि पौडी खेल्न गएका थिए।

पौडी खेल्ने क्रममा बबिता ढुङ्गा माथि बसिरहेको र दुई जनालाई खोलाले बगाएको थियो। बगाएको मध्ये आशा न्यौपानेलाई भने खोलामा माछा मार्दै गरेका हरि सन्यासीले बचाएका थिए।

खुदी प्रहरी चौकीका सई प्रेमप्रसाद शर्माका अनुसार रोशनीलाई भने सय मिटर तल मर्स्याङ्दी नदीमा मिसाएको थियो। पौडी खेल्न गएका तीन जना नै खुदी पुरानो बजारको रहेको प्रहरीले जनाएको छ। रोशनीलाई आफन्त, स्थानीय र प्रहरीले खोजी गरिरहेका छन्।

रोशनी सोही वडास्थित अमर माविमा कक्षा ६ मा अध्ययनरत छात्रा रहेको प्रधानाध्यापक तीर्थ बस्नेतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *