सिटिजन बैङ्क सुनापतीसँग गाउँपालिकाले माग्यो स्पष्टीकरण 

रामेछाप – नेपाल राष्ट्र बैङ्कको आदेशलाई अवज्ञा गरी सिटिजन बैङ्कको सुनापती शाखाले तोकिएको समय सम्म सेवा नदिएको भन्दै सुनापती गाउँपालिकाले स्पष्टीकरण मागेको छ । सुनापती गाउँपालिकामा रहेको सिटिजन बैङ्कको शाखाले असार २३ गते बैङ्क नै बन्द गरेर राखे पछि सेवाग्राहीलाई मर्का परेको सुनापती गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने प्रयोजनका लागि मिति २०८०/०३/२४ गते र मिति २०८०/०३/२३ र ३० गते विदाका दिन समेत राति ८ बजेसम्म तथा मिति २०८०/०३/३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैङ्कहरू, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने अन्य बैङ्क तथा वित्तीय संस्थाहरू साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नु गराउनुहुन भनी नेपाल राष्ट्र बैङ्कले असार २२ गते नै पत्र जारी गरेको थियो ।

तर यो पत्रको अवज्ञा गर्दै सिटिजन बैङ्क सुनापती शाखाले २३ गते शनिवारको दिन कार्यालय नै खोलेन । बैङ्कले २४ गते आइतबार सधैँ जस्तै समयमा कार्यालय खोल्यो र सधैँ जस्तै दिउँसो तीन बजे नै बन्द गरिदियो ।

नेपाल राष्ट्र बैकले जारी गरेको पत्रको अवज्ञा गर्दै सिटिजन बैङ्क सुनापती शाखाले बैक बन्द राखेपछि सुनापती गाउँपालिकाले स्पष्टीकरण  पठाउनु भनी पत्र पठाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले बताए । उनले भने- नेपाल राष्ट्र बैकले जारी गरेको पत्रको अवज्ञा गरी सिटिजन बैङ्क सुनापती शाखाले आफ्नो मर्जीले कार्यालय बन्द राखेर सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित बनायो । यसको स्पष्ट कारण सहितको जवाफ बैङ्कले पालिकालाई दिन पर्छ ।

‘पालिकाले बैङ्क खुल्छ, कारोबार हुन्छ भनेर पालिकाले जानकारी गरायो तर बैङ्क २३ गते शनिवारको दिन खुल्दै खुलेन ।’ एक सेवाग्राहीले गुनासो समेत पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *