एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारोबीच पहिलो चरणमा खेल हुने


काठमाडौं – एसियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहको बताए।

सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो।

लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो। यता भुटानको पारो एएफसी क्लब लिगमा पहिलो स्थान हासिल गर्दै प्रतियोगितामा सहभागिता जनाएको हो।

पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग भइरहेकाले आफ्नो टोलीको तयारी राम्रो रहेको बताए। उनले मछिन्द्र क्लबमा राष्ट्रिय खेलाडीसमेत समावेश रहेकाले आफूहरूले मछिन्द्र क्लबलाई बलियो प्रतिद्वन्द्वीको रूपमा लिएको बताए।

मछिन्द्र र पारोबीचको खेलको विजेताले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्ने मौका पाउनेछ। उक्त खेल यही साउन ३१ गते हुनेछ। मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो। उक्त खेलमा मछिन्द्र श्रीलंकन क्लब ब्लू स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो।

प्रतिक्रिया