माल्दिभ्स जाने नेपाल पुलिसको महिला भलिबल टोलीलाई विदाइ


काठमाडौं – माल्दिभ्समा भदौं ३० देखि हुने काभा वुमन्स भलिबल च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाल पुलिस क्लबलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले विदाइ गरेका छन् । असोज ५ गतेसम्म हुने क्लब च्याम्पियनसिपमा भाग लिन जाने पुलिसको टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना दिए । पुलिस प्रतियोगितामा राष्ट्रिय च्याम्पियनको हैसियतले प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताका लागि एपिएफ क्लबका सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डाइमन्डकी सुमित्रा रेग्मीले नेपाल पुलिस क्लबबाट खेल्दै छन् । उनीहरु सो प्रतियोगितामा लागि मात्र पुलिस टोलीमा सहभागी भएका हुन् । टोलीमा राष्ट्रिय टोलीका सरस्वती, निरुता र सुत्रितासँगै उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, शान्तीकला तामाङ, कमला पुन र मनिषा चौधरी छन् । मनिषाबाहेक अरु सबै खेलाडी राष्ट्रिय टोलीका हुन् ।

प्रतिक्रिया