राष्ट्रिय खेलाडीको तलवमा १२ हजारले वृद्धि

एन्फा महासचिवको मासिक दुई लाख ७० हजार


काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष नेम्वाङले कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलव दुई हजार अमेरिकी डलर अर्थात करिब दुई लाख ७० हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव राखेका हुन् ।

केही सदस्यको असन्तुष्टिका बाबजुद उक्त प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईकाे तलव मासिक एक लाख २० हजार रहेको छ । बैठकले राष्ट्रिय खेलाडीको तलव १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ ।

यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलव वृद्धिको विषयमा प्रतिक्रिया दिन चाहेनन् । बैठक सकिएको छैन । बैठकबीच प्रवक्ता सुरेश शाहले तलव वृद्धिको निर्णय भएको स्वीकार गरेका छन् ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र पाँच जित दिलाएका थिए । चार खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो ।

एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठक मङ्गलवार बिहान पौने ११ बजे शुरु भएको थियो । रातिसम्म चलेको बैठक बिहीबार बिहानलाई स्थगित गरेको छ । बुधवार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीवार बैठक जारी रहने प्रवता शाहले बताए ।

प्रतिक्रिया