बेइजिङमा भारी हिमपात, चीनमा उच्च मौसमी चेतावनी


काठमाडाैं – चीनको दक्षिणी भागमा तापक्रम घटेर बेइजिङमा भारी हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ ।

चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम भोलि ६ देखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको हो ।

यस्तै राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा एकैचोटी तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्न सक्ने बताएको एएफपीले जनाएको छ ।

केन्द्रले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, नागरिकलाई न्यानोमा बस्न सल्लाह दिएको र बाली तथा जलीय उत्पादनका सुरक्षाका लागि आवश्यक उपाय अपनाउन आग्रह गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ ।

राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् ।

प्रतिक्रिया