नवनियुक्त उपकुलपति बराल भन्छन् – त्रिविको स्नातक कार्यक्रम तीनवर्षे बनाउँछाैं


काठमाडाैं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाउने घोषणा गरेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदबहाली लगत्तै उनले चारवर्षे स्नातक कार्यक्रम लामो भएकाले विद्यार्थी र अभिभावकको लगानी बढेकोले त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।

त्रिभुवन विश्वविद्यालयले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक कार्यक्रम शुरुवात गरेको थियो । विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने उहाँको भनाइ छ । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेको भन्दै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए । यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने गरी पुनःसंरचना गरिने उनले जानकारी दिए ।

यस्तै शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइने उनको भनाइ छ। उपकुलपति बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले बताए । उनले थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने प्रतिबद्धता पनि जनाएको छ ।

त्रिविको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ४० केन्द्रीय विभाग गाभेर १७ वटा स्कुल स्थापना गर्ने उल्लेख छ । त्रिविका कतिपय विभागमा विद्यार्थीभन्दा अध्यापकहरूको सङ्ख्या धेरै रहेको छ । उपकुलपति बरालले भने आंगिक क्याम्पसहरूमा रहेका अनावश्यक विभागसमेत गाभेर स्कुल बनाउने घोषणा गरेका हुन् । तत्कालीन शिक्षाध्यक्ष (रेक्टर) शिवलाल भुसाल संयोजक रहेको कार्यदलले ५ वर्षअघि नै स्कुल मोडलमा जान सुझाव दिएको थियो । तर विभागीय प्रमुख र केही डिनहरूका अवरोधका कारण विभाग खारेज हुन नसकेको पूर्वपदाधिकारीको गुनासो छ ।

प्रतिक्रिया