कडा सुरक्षाकाबीच नाभाल्नीको अन्तिम संस्कार, पुटिनविरुद्ध नाराबाजी
काठमाडाैं – रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उनलाई श्रद्धाञ्जली व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए ।
कतिपयले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आलोचनात्मक नाराबाजी गरेको बीबीसीले जनाएको छ । उनको शवलाई बोरिसअफ्स्कया चिहानस्थलमा गाडिएको थियो । नाभाल्नीको शव चिहानमा गाड्ने बेला चिहानस्थलभित्र उनकी आमा पुगेकी थिइन् ।
रुसी अधिकारीहरूले शुरुमा उनको शव आमालाई दिन अस्वीकारसमेत गरेका थिए । नाभाल्नीका समर्थक र केही पश्चिमा नेताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नियोजित रुपमा हत्या गराएको आरोप लगाइरहेका छन् तर यी आरोपको मस्कोले खण्डन गर्दै आएको छ ।
उनको दुई साताअघि नै जेलमा निधन भएको हो ।