आजदेखि नयाँ साल २०८१ सुरू, हर्षोल्लाससहित मनाइँदै
काठमाडाैं – आजदेखि नयाँ साल २०८१ सुरू भएको छ । विक्रम संवतको पात्रोअनुसार आज (शनिबार)देखि नयाँ वर्ष सुरू भएको हो । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले आपसमा सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने परम्परा छ । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।
वि.सं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । वि.सं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।
नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरूले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।