मेलम्चीको पानी आजदेखि बन्द


काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै आज असार १० गतेदेखि लागू हुनेगरी मनसुन अवधिभरीका लागि मेलम्चीको खानेपानीको काठमाडौं उपत्यका भित्रको वितरण बन्द गरिएको जनाएको छ ।

‘हरेक वर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरुमा आवश्यक सफाई तथा मर्मत सम्भार गरी अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्दै आइरहेको अवस्थामा यस वर्ष पनि मनसुन सक्रिय भई वर्षा सुरु भैसकेको छ, विज्ञप्तीमा भनिएको छ- ‘मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रभन्दा माथि भेमाथाङ्गमा अत्यधिक मात्रामा रहेको ढुङ्गा गेग्रान सहितको डेब्रिज जुनसुकै बेला बाढीसँगै बगेर टनेलमा छिर्न सक्ने अवस्था रहेको, नदीमा पानीको मात्रा अत्याधिक बढेर कर्मचारीहरु आवतजावत गर्न असहज भएको, पानीमा लेदो र गेग्रानहरु बग्न शुरु भई मुहान क्षेत्रमा आवत जावत गर्ने पहुँच सडक बगाउन थालेको हुँदा आज असार १० गतेदेखि मनसुन अवधि नसकिएसम्म काठमाडौंमा खानेपानी पथान्तरणको कार्य बन्द गरिने व्यहोरा अवगत गराउँद छौँ ।’

‘पटक–पटक जतिसुकै प्रयास गर्दा पनि प्राकृतिक विपत्तिको कारणले बाह्रै महिना मेलम्चीको खानेपानी आपूर्ति गर्न नसकिएकोमा काठमाडौंवासी आम उपभोक्तामा पर्न जाने असरप्रति क्षमा याचना गर्दै मनसुन समाप्ति पश्चात यथासम्भव चाँडो काठमाडौं उपत्यकामा पानी पुनः पथान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं, विज्ञप्तीमा भनिएको छ- ‘मेलम्ची खानेपानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरी काठमाडौं उपत्यकाका आम उपभोक्तालाई सुचारु रुपमा खानेपानी वितरण गर्ने सम्बन्धमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने व्यहोरासमेत अनुरोध गरिन्छ ।’

प्रतिक्रिया