पूर्वमा ठूलो वर्षाको सम्भावना, पश्चिममा मनसुनी गतिविधि कमी


काठमाडाैं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज (मंगलबार) देशभर साधारणतया बदली रहने छ ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मनसुनी गतिविधि कम हुँदै गएकोले त्यता पानी परेको छैन । अबको केही दिन कोशी प्रदेश लगायत देशका पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु क्षेत्रमा भने मनसुनी गतिविधि विस्तारै कम हुँदै जाने जनाइएकाे छ ।

पछिल्लो ६ घण्टामा कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षा भएको छ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी बर्षा पनि भएको छ ।

देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

प्रतिक्रिया