नेपाल भित्रियाे मनसुन, ४ दिनभित्र देशभर फैलने


काठमाडाैं – नेपालमा औसत समयभन्दा आठ दिन अगाडि नै मनसुन प्रवेश गरेको छ । सामान्यतयाः जुन १३ तारिखलाई मनसुन भित्रने समय मानिन्छ । गएको वर्ष पनि औसत समयभन्दा अगाडि नै मनसुन नेपाल प्रवेश गरेको थियो ।

तर यसपटक भने गत वर्षभन्दा पाँच दिन अगाडि नेपालमा मनसुन भित्रिएको हो । गएको वर्ष जुन १० तारिखमा नेपालमा मनसुन प्रवेश गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज आइतवार प्रदेश नम्बर १ बाट मनसुनी प्रणाली नेपाल प्रवेश गरेको हो । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन तीनदेखि चार दिन लाग्ने श्रेष्ठले बताए ।

गएको वर्ष मनसुन भित्रनेबित्तिक्कै सक्रिय भएर देशभर लगातार वर्षा हुँदा आएको बाढी र पहिरोमा परी देशमा ठूलो जनधनको नोक्सानी भएको थियो । यो वर्ष पनि सरदरभन्दा धेरै पानी पर्न सक्ने मौसम पूर्वानुमान भइसकेको छ । मनसुन प्रवेश गरेसँगै सक्रिय हुने सम्भावना पनि धेरै रहेकाले सतर्कता अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गरेका छन् ।

मनसुन बाहिरिने समय भनेको अक्टोबर २ तारिख हो । नेपालमा वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्दछ । यस अगाडि मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन नेपाल प्रवेश गर्न अझै दुई/चार दिन लाग्ने जनाएको थियो ।

प्रतिक्रिया