जापानिज इन्सेफ्लाइटिसका कारण हुने मृत्युदर उच्च, खाेप लगाउन आग्रह


काठमाडाैं – यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । ६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा १४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

यसपालि गएको वर्षको भन्दा सङ्क्रमण घटेको भए पनि मृत्यु भएको दर उच्च देखिएको हो । अघिल्लो वर्ष एक सय सात जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जनाको ज्यान गएको थियो । नेपालमा भदौको मध्यदेखि असोजको मध्यसम्मलाई जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भएको समय मानिन्छ ।

जापानिज इन्सेफलाइटिस भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् ।सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे शुरूमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ । जापानिज इन्सेफलाइटिस भाइरस पनि डेङ्गी, येलो फिभर र वेस्ट नाइल भाइरसहरूको वर्गमै पर्छ ।

उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अररो हुनु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु यो रोगका लक्षण हुन् । यो रोगको छुट्टै उपचार छैन । रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ । धेरैजसो १५ वर्षमुनिका बालबालिकामा यो रोग देखिन्छ ।

सरकारले सन् २०१६ देखि नै १२ महिना उमेरका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप निःशुल्क लगाउने गरेको छ । खोप लगाएमा इन्सेफ्लाइटिसको सङ्क्रमण भइहालेमा पनि जटिलता र मृत्यु नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । उनले आफ्ना बालबालिकालाई नछुटाई खोप लगाउन पनि आग्रह गरे ।

प्रतिक्रिया