कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाडाैं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसले आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरी चल्ने सम्भावना छ ।
यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेश एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती ठाउँमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।