काठमाडाैंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक


काठमाडाैं – काठमाडाैंको दरबारमार्गमा आज र भोलि सवारी चलाउन नपाइने भएको छ । भोलि रातिसम्मकै लागि सवारी साधनको आवागमनमा रोक लगाइएको हो ।

संविधान दिवसको दिन भोलि असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । काम भइरहेकाले यो क्षेत्रमा सवारी चलाउन रोक लगाएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र बेलुका नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया