प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरे । यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरू समेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो । प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मंसिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।