आजदेखि देशभर भारी वर्षा, बढ्याे बाढीको जाेखिम


काठमाडौं – केहि दिन अलि मत्थर भएको बर्षा आजदेखि थप विस्तार हुने मौसमविदले बताएका छन् । आजदेखि देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । आजदेखि केहि दिन प्रदेश–१, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

भारी वर्षाका कारण बाढी पहिरो र डुबानको समस्या बढ्न सक्ने भएकाले सचेत रहन पनि मौसमविदले आग्रह गरेका छन् । आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेष गरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्ने छ ।

केहीमा सतर्कता तर पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोरलगायतमा बहाव बढ्ने छ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ।

यस्तै तिनाउ, कन्काई, कमला, वागमती र यिनका सहायक नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया