त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा


काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो १:१५ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

लिग चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपाल नेदरल्यान्ड्सलाई हराउँदै उपाधि हात पार्न चाहन्छ । नेदरल्यान्ड्स पनि नेपालकै घरेलु मैदानमा आफू उपाधि जित्ने दाउमा छ ।

कुन टोली बलियो ?

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग १० टी-ट्वान्टी खेल खेलेको छ । जसमा ८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ ।

नेपालले ३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले २ टी-ट्वान्टी र ४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ । एक खेल नतिजा विहीन भएको थियो ।

यस सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लय समाउन चाहान्छ । नेदरल्यान्ड्स भने सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको नतिजा दोहोर्‍याउन चाहन्छ ।

नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । नेपाली टोलीका लागि दुई युवा ब्याट्सम्यान कुशत भुर्तेल र आसिफ शेख टिकेको खण्डमा खेल जित्न सकिने अपेक्षा नेपाली टोलीको छ ।

सिरिजमा उत्कृष्ट ओपनिङ जोडीको रुपमा देखिएका दुई ब्याट्सम्यान नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा पनि ओपनिङमा पर्ने सम्भावना छ । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध नै डेब्यु गरेको यी दुई जोडीले कीर्तिमानी खेल खेलेका छन् ।

कुशल जारी सिरिजमा सर्वाधिक स्कोर कर्ता हुन् । उनले नेपालका लागि सिरिजमा ४ खेलमा २ सय १ रन जोडेका छन् । आसिफले १ सय ३८ रन जोड्दै सिरिजमा सर्वाधिक रन जोड्ने खेलाडीको तेस्रो स्थानमा छन् ।

नेपालका लागि वलिङमा सन्दीप लामिछाने मुख्य हतियार हुन सक्छन् । अन्तर्राष्ट्रिय स्तरमा फ्रेन्चाइजी टी–ट्वान्टी लिगको अनुभव बटुली सकेका सन्दीपले जारी सिरिजका चार खेलबाट ११ विकेट लिएका छन् ।

उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा चार ओभर बलिङ गर्दै दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा चार ओभरमा ४ विकेट लिएका थिए ।

प्रतिक्रिया