‘हिंसा विरुद्ध हुने गोष्ठीले प्रभावकारी परिणाम दिन सकेन’


काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यस्थलमा हुने हिंसा विरुद्धको विषय उठान गर्न आयोजना हुने गोष्ठी र छलफलले समाजलाई परिणाम दिन नसकेको बताएका छन् ।

बुधबार मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आयोजना गरेको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ राष्ट्रिय कार्यशालामा उनले हिंसा हुने समाजको विकास कहिल्यै नहुने बताए । उनले हिंसा कहाँ–कहाँ छ भनेर निर्क्यौल हुनुपर्ने समेत बताए । उनले आफूमात्र सुरक्षित भएर नहुने भन्दै सुरक्षा गर्ने सभ्यताको निर्माण गर्नुपर्ने बताए ।

घृणा र बदलाको भाव परिणत नहुने किसिमले छलफल केन्द्रित गरी आम नागरिकलाई सुरक्षा गर्नुपर्ने उनको भनाई थियो । विकसित, विकासोन्मुख र गरिब देशका आ-आफ्नै समस्याहरु हुने भन्दै उनले आर्थिक रुपले समृद्ध बन्न नसके यस्ता घटना भइरहने बताए ।

समाजलाई कसरी पारदर्शी बनाउने भन्ने विषयमा छलफल हुनुपर्ने बताउँदै उनले अबको पुस्ता कम्तिमा दक्षिण एसियामा धनी पुस्ताका रुपमा अगाडि आउनुपर्ने उनले बताए । उनले भने, ‘हरेक कार्य पारदर्शी रुपमा गरेमा सभ्य समाजको स्थापना हुन्छ । ’

प्रतिक्रिया