लागूऔषध हेरोइनसहित ठमेलबाट तीन जना पक्राउ


काठमाडौं – प्रतिवन्धित लागूऔषध हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले तीन जनालाई चार किलो हेरोइनसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए।

पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते शुक्रबार ६१ वर्षीय अफ्रिकी नागरिक ज्याक्वेस एन्टन एनजेलब्रेचमाथि प्रहरीले शंका गरेको थियो।

उनको गतिविधि शंकास्पद देखेपछि प्रहरीले उनीमाथि निगरानी गरेको थियो। अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-२६ ठमेलको एउटा होटलबाट उनलाई प्रहरीले पक्राउ गर्यो। उनले ल्याएको सुटकेशमा फल्सबटमभित्र चार किलो हेरोइन बरामद भएको थियो।

यस्तै लागु औषध भारतमा लैजान लागेको प्रहरीको भनाई छ। सो लागुऔषध लैजानको लागि सहयोगीको भूमिका खेलेका नुवाकोट गर्साङ गाउँपालिका-७ घर भई बनस्थलीमा बस्ने ५० वर्षीय ट्याक्सी चालक सुकेश तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनको बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित ठमेलबाट पक्राउ गरेको हो। अर्का व्यक्ति दिल्लीबाट काठमाडौंमा हेरोइन लिन आएका दिल्लीको जनकपुरी बस्ने ३२ वर्षीया जोथनलुआङ्गी नामकी भारतीय महिलालाई पनि पक्राउ गरेको छ।

उनीहरूमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागु औषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया