यूराेप पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीका लागी ‘क्रोएसिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर घर भएर बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् ।

क्रोएसियाको ‘कृषि फर्ममा काम लगाइदिन्छु, तलब १ लाख हुन्छ’ भनेर दाहालले पीडितहरुसँग ६ लाख चौबिस हजार लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

धनञ्जय कुमार कार्की सहितका व्यक्तिहरुलाई ठगेर सम्पर्कविहीन भएपछि आरोपीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले प्रहरीलाई आग्रह गरेको थियो । बुधवार उनलाई सिनामंगलबाट पक्राउ गरेर विभागमा बुझाइएको एसपी कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया