शिव भजनसंग्रह ‘जीवन मुस्कुराउनेछ’ विमोचन

काठमाडाैं – शिव भजनसंग्रह ‘जीवन मुस्कुराउनेछ’को विमोचन गरिएको छ। गत बुधबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित समारोहबीच एल्बम विमोचन गरिएको हो।

आठवटा भजनहरू संग्रहित एल्बममा डा. बिनुबाबा अर्यालको एकल शब्द, योगेन्द्र उपाध्यायको एकल संंगीत र मोहन के. राईको एकल स्वर रहेको छ। एल्बमममा समावेश भजनमा विश्व अधिकारी, सुवास जोशी, संगीतकार उपाध्याय र सञ्जीव दर्नालको संगीत संयोजन रहेको छ।

डश म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको एल्बमलाई प्राध्यापक तथा वरिष्ठ गीतकार डा. कृष्णहरि बरालसहित वरिष्ठ गायिका संगीता राना प्रधान, वरिष्ठ गीतकार एसपी कोइराला, वरिष्ठ गीतकार चूडामणि देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार उपाध्याय, गीतकार अर्याल, वरिष्ठ संगीतकार किरण कँडेल, वरिष्ठ संगीतकार विष्णु अधिकारी, चर्चित संगीतकार शंकर थापा स्माइल, डश म्युजिकका अध्यक्ष डिपी खनाललगायतले संयुक्त रूपमा विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले गीतकार अर्याल प्राध्यापन पेसामा रहँदै विभिन्न पुस्तकसमेत लेखिसकेको स्मरण गर्दै गीतकारका रूपमा पनि आफूले उत्तिकै अब्बल पाएको बताए। भक्तिभावलाई उत्कृष्ट ढंगले शब्दहरूमा भन्न सफल भएको भन्दै उनले एल्बममा समावेश गीतहरूले भगवानप्रतिको महिमा थप बढाउने विश्वास लिए।

यस्तै संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले आफूले भगवानमा आस्था नराख्ने भए पनि यो एल्बममा समावेश गीतहरू सुन्दा भगवानप्रतिको आस्था जागेको बताए। एउटा स्रष्टाका लागि सबैभन्दा ठूलो उपलब्धि यही भएको भन्दै उनले योगेन्द्र संगीतकार संघका लागि गौरव रहेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *