हिमालयन बैंकले ल्यायो सीआरएम मेसिन, बिनाकार्ड पैसा जम्मा गर्न सकिने
काठमाडाैं – हिमालयन बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुविधा दिन बैंकको विभिन्न शाखाहरूमा सीआरएम (क्यास रिक्लिएर मेसिन) सञ्चालनमा ल्याएको छ ।
हाल बैंकले सातवटा सीआरएम बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगन्ज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ ।
यस सीआएरएमबाट सेवाग्राहीहरूले कुनै पनि समयमा कुनै झन्झटबिना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन् ।
सो मेसिनबाट रकम जम्मा गर्दा बिनाएटीएम कार्ड सीधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुविधाले बैंकका ग्राहकहरूलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।
हाल बैंकले नेपालभरि फैलिएको कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटीएम र ६,००० भन्दा बढी पीओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।