नेप्सेमा २१ अंकको गिरावट, ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार


काठमाडाैं – मंगलबार नेप्से परिसूचकमा करेक्शन आएको छ । कारोबारको शुरूआतमा ६५ अंकभन्दा बढी अंकले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ । मंगलबार नेप्से २१.३५ अंक घटेर २१९०.४२ बिन्दुमा झरेको छ । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबार नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिना यताकै उच्च भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो । जसमा बैंकिङ र म्युचुअल फण्ड उपसमूहको बढेको छ । त्यस्तै,वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगलबार नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिब ९ प्रतिशत घटेको छ । आज ङादी ग्रुप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया