बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो


काठमाडौं – काठमाडौं को बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौं महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् ।

बाइसधारा मेला सुरु भएकै दिनदेखि वैशाख स्नान प्रारम्भ हुने गर्दछ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले बिहानैदेखि बाइसधारामा स्नान गर्ने भक्तजनको सङ्ख्या बढेको बताए ।

बालाजुको बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साथै लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रहेकाले बालबालिकादेखि वृद्धवृद्धासम्म बाइसधारा स्नानका लागि आएका छन्

चैत शुक्लपूर्णिमाको अघिल्लो दिन बौद्ध धर्मावलम्बीहरुले बौद्ध गुम्बामा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गर्ने गर्दछन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ पनि गरिन्छ ।

प्रतिक्रिया