आजको मौसम : हावाहुरी र हल्का वर्षाको सम्भावना


काठमाडाैं – आज देशभर हावाहुरी र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको माैसममा सामान्य बदली हुने पुर्वानुमान गरिएको छ।

शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाएको छ।

महाशाखाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।  देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहने छ। देशका पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

शुक्रवार राति देशभर आंशिक बदली रहने महाशाखाको अनुमान छ।

प्रतिक्रिया