२०२० की मिस युनिभर्स बनिन् मेक्सिकोकी एन्ड्रिया
काठमाडौं – मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२० बन्न सफल भएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचेकी छिन् । उनी मिस युनिभर्सको ताज जित्न सफल तेस्रो मक्सिकन महिला बनेकी छिन् । ब्राजिलकी जुलिया गामा फर्स्ट रनरअप भएकी छिन् भने पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप बन्न सफल भएकी छिन् । मिस युनिभर्सको यो प्रतियोगितामा अन्सिका शर्माले पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगिताका लागि अन्सिकाले अत्यन्तै मिहिनेत गरेतापनि उनले उत्कृष्ट २१ मा आफ्नो स्थान बनाउन सकिनन् ।
मिस युनिभर्सबारे केही जानकारीः
उनको जन्म चिहुवाहुवा शहरमा १३ अगस्ट सन् १९९४ मा भएको हो । एन्ड्रिया २६ वर्षकी हुन् । उनी अल्मा कारमोना र स्यान्टियागो मेजाकी जेठी छोरी हुन् । उनका अन्य दुई बहिनी छन् ।
मोडल हुनुका साथै एन्ड्रिया सफ्टवेयर इन्जिनियर हुन् । सन् २०१७ मा चिहुवाहुवाबाट नै उनी सफ्टवेयर इन्जिनियरको रुपमा ग्रेजुएट भइन् । एन्ड्रिया लैङ्गिक हिंसाको विषयमा निकै मुखर छिन् ।
उनले सन् २०२० मा मेक्सिकन युनिभर्सल २०२० को ताज जितेकी थिइन् । यसबाहेक उनी मिस मेक्सिको २०१७ समेत बनिन् । उनले सन् २०१७ को विश्व सुन्दरीमा शीर्ष तीनमा आफ्नो स्थान बनाएकी थिइन् ।
प्रतियोगिताको प्रश्नोत्तर राउन्डमा एन्ड्रियालाई सोधिएको थियो, ‘यदि तपाईं आफ्नो देशकी नेता हुनुहुन्थ्यो भने तपाईं कोभिड-१९ महामारीलाई कसरी नियन्त्रण गर्नुहुन्थ्यो ?’ यसको जवाफमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ, कोभिड–१९ जस्तो यो मुश्किल स्थितिसँग जुधुनका लागि कुनै सही तरिका छैन । यद्यपि, स्थिति भयावह हुनु अगावै मैले लकडाउन भने गर्थेँ होला किनभने हामीले धेरै ज्यान गुमाएका छौं ।’