शब्दाङ्कुर कथा प्रतियोगिताका विजेता पुरस्कृत
काठमाडाैं – शब्दाङ्कुर साहित्यप्रधान मासिकले शब्दाङ्कुर कथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्नाका साथै उत्कृष्ट दश कथा विशेष अङ्क सार्वजनिक गरेको छ । काठमाडौंस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम प्रा. कृष्ण गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गौतमले कथा लेखन साहित्यको प्राचीनतम विधा भएको बताए ।
‘प्राचीन समयदेखि नै एसियामा कथा, आख्यानजस्ता विधा प्रशस्त लेखिएका यथेष्ट प्रमाण छन् । दक्षिण एसिया त अझ कथाको भण्डार हो ।’ उनले थपे । गौतमले विश्व साहित्यमा कथा लेखनमा नविनतम प्रयोग प्रशस्त भएको कुरा बताउँदै नेपालमा पनि कथा लेखनमा नयाँ शैली सुरु हुन थालेको बताए । उनले साहित्यमा उत्तरआधुनिकताको सन्दर्भ कोट्याउदै साहित्य लेखनमा नयाँ प्रयोगहरू हुन आवश्यक रहेको बताए ।
समालोचक ज्ञानु अधिकारीले सार्वजनिक भएका उत्कृष्ट दश कथाहरूमाथि समीक्षात्मक धारणा राखे । ‘कथाहरूमा सामाजिक यथार्थ चित्रण प्रशस्त देखिन्छ । अभाव, बेरोजगार, जातीय विभेद, लैङ्गिक समस्या, युवामा देखिने नैरश्यता र विचलनलगायतका विषयको सबल चित्रण सङ्गृहीत कथामा पाइन्छ ।’ उनले भने ।
‘कुनै पनि सिर्जना आफैमा राम्रो वा खराब तुलनात्मक रूपमा पाठकले कसरी ग्रहण गर्छन् । यसमा साहित्यिक मूल्य कति छ भन्ने आधारमा तिनको मूल्याङ्कन हुने गर्दछ’, उनले थपे । बजारमा धेरै कथाहरू आउने भएकाले केही फरक रूपमा परिचय निर्माण गर्न कथा लेखनमा नवीन शैली र शिल्प आवश्यक रहेको कुरा अधिकारीले औँल्याए ।
कार्यक्रमका सभापति एवम् शब्दाङ्कुर साहित्यप्रधान मासिकका सल्लाहकार प्रा.डा. जीवेन्द्रदेव गिरीले सार्वजनिक कथाहरू धेरै सामाजिक धारामा लेखिएको हुँदा तिनले सामाजिक यथार्थ उजागर गर्नेे बताए । समाजमा विद्यमान आर्थिक अभाव, बिदेशिनु परेको बाध्यताले परिवारिक जीवनमा ल्याएको विखण्डन, जात व्यवस्थाले सिर्जना गरेको सामाजिक चुनौतीहरू कथाभित्र यथार्थ रूपमा चित्रण भएको बताए । कार्यक्रममा निर्णायक बनेका सुदीप पोख्रेलले समेत सङ्क्षिप्त धारणा राखे ।
शब्दाङ्कुर साहित्यिक पत्रिकाले २२ औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित प्रतियोगितामा प्रा.डा. अजय रिसालको “मोबाइलको घण्टी” शीर्षक कथाले प्रथम स्थान प्राप्त गर्यो भने नन्दलाल आचार्यको “केटो कथा” कथाले दोस्रो स्थान र अज्ञात युवकको “दुर्व्यवहार” कथाले तेस्रो स्थान प्राप्त गरेको थियो ।
विजेताहरूलाई क्रमशः १०, ६ र ५ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीहरूलाई स्वागत भाषण सम्पादक टेकेन्द्र चेम्जोङले, कार्यक्रमउपर प्रकाश सम्पादक गोविन्द घिमिरेले, धन्यवाद ज्ञापन व्यवस्थापक तुलसी कन्दङ्वाले गरेे ।