नक्कली धनीपुर्जा बनाएर रकम असुल्ने एक जना पक्राउ

झापा – ऐलानी जग्गाको नक्कली धनीपुर्जा बनाइदिएर स्थानीयबाट रकम असुल्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ का ७३ वर्षीय ज्ञानबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। घटनामा संलग्न एक जना अझै फरार रहेका छन्।

प्रहरीका अनुसार मेचीनगर-६ स्थित मेचीडाँडामा ऐलानी जग्गाको धनीपुर्जा बनाइदिने भन्दै गिरी र सोही ठाउँका ७५ वर्षीय भुपध्वज दाहालले त्यहाँका स्थानीयवासीसँग विभिन्न मितिमा १० देखि ७० हजारसम्म रकम असुलेर ठगी गरेका छन्।

गिरी र दाहालले स्थानीयको फोटो टाँसिएका रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गाधनी पुर्जा तयार पारी समेत दिएको थियो। उनीहरूले रकम लिएर नक्कली धनीपूर्जाको वितरण गरेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गिरीलाई वैशाख १२ गते पक्राउ गरेको डीएसपी रिजालले बताए।

पक्राउ परेका गिरीलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ। ‘अहिलेसम्म ७ जना पीडित सम्पर्क आएका छन्,’ डीएसपी दाहालले भने, ‘उनीहरूले ५० देखि ६० जनालाई ठगी गरेको हुनसक्ने अनुमान छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *