लागूऔषध गाँजासहित चार जना पक्राउ


ढल्केवर(धनुषा) – धनुषाबाट साँढे १० किलो लागूऔषध गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-३ बस्ने ३१ बर्षीय फेकन साह, सोही ठाउँ बस्ने २१ वर्षीय सन्तोष दास, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ बस्ने २६ वर्षीय अमित कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय रवीन कुमार यादव रहेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान विशेष सूचनाका आधारमा धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित बौवा होटल अगाडि इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध ब्यूरो जनकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र २-०३-००७प ८५४१ र ज ४ प ७७३३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनीहरूले प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याइएको लागूऔषध १० किलो ५०० ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया