प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट, द्विपक्षीय हितका विषयमा छलफल
नयाँदिल्ली – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो ।
सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेका थिए ।