हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले समिति बनाउने


काठमाडौं – सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।

आज (मंगलबार) जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले दुर्घटनाको अध्ययनका लागि छानबिन समिति बनाइने जानकारी दिएका हुन् ।

आज (मंगलबार) बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका एक नेपाली पाइलट र पाँच मेक्सिकन नागरिकको ज्यान गएको छ ।

मन्त्री किरातीले आफू जनकपुरबाट फर्किए लगतै नभए बुधबारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गरिने जानकारी दिए । सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै किरातीले सरकारले नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।

‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौँ, हाम्रो पहिलो शर्त सुरक्षा हो,’ किरातीले भने, ‘हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलिसम्ममा गठन हुन्छ ।’

प्रतिक्रिया