मनसुनी वायुको प्रभावले सोमबारदेखि बढी पानी पर्ने सम्भावना
काठमाडौं – हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन ।
महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलीमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौंमा ३४ मिलीमिटर वर्षा मापन गरिएको छ ।