मनाङ सडक खण्डमा ३५ वटा पहिरो, आवतजावत पूर्ण रुपमा अवरुद्ध


मनाङ – हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे-बेसीसहर-चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका-६ खरखरेमा ट्रयाक भासिएपछि आवागमन अवरुद्ध भएको हो ।

शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ । यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिराे खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए ।

उनले भने, ‘केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्रयाक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ ।’ सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए । ‘लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरो खसेका छन्’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले बताइन् । उनले पहिरोका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिइन् ।

डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरो खसिरहने गरेको छ । खसेको पहिरो हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिक्रिया