नेपाली फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक
काठमाडौं – नेपाली फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीआइक्यू) को कथालाई विरलै देख्न सकिन्छ ।
लभस्टोरी फिल्म बनाउने निर्देशक झरना थापाले भने यस पटक फिल्म ‘एक भगवत् गीता’मार्फत लैंगिक अल्पसंख्यक समुदायको कथालाई सशक्त ढंगले प्रस्तुत गर्न खोजेकी छन् । ट्रेलर हेर्दा फिल्म सशक्त बनेको अनुमान गर्न सकिन्छ ।
अभिनेता विपिन कार्कीको सशक्त भूमिका रहेको फिल्मको सार्वजनिक ट्रेलरमा लैंगिक अल्पसंख्यकलाई समाज तथा परिवारले गर्ने तिरस्कारका साथै समानता र न्यायको लडाईं लडेको देखाइएको छ ।
ट्रेलरमा सुहाना थापा र धीरज मगरबीचको प्रेम र रोमान्सलाई पनि समेटिएको छ । फिल्ममा सुहाना र धीरजको अन्तरजातीय प्रेमकथालाई देखाइएपनि प्रमुख विषयवस्तु भने लैंगिक अल्पसंख्यक समुदायको कथा नै रहेको देखिन्छ ।
यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपिन, सुहान र धिरज बाहेक जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको पनि अभिनय छ ।
फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनले संवाद लेखेका छन् ।