सर्लाही सदरमुकाम मंलगवामा कर्फ्यू


काठमाडौं – सर्लाहीको सदरमुकाम मंलगवामा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि सुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो । सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कर्फ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।

यद्यपि, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

प्रतिक्रिया