राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको प्रतिमा अनावरण


भक्तपुर – राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व. गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गरेका छन् । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा निर्माण गरेको शालिकको उनले अनावरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताए । सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान भएको बताउँदै उनले भने, ‘को वामपन्थी, को दक्षिणपन्थी सबैले नेता मानेका र २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि आफ्नै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता उहाँ नै हो ।’

कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले देशलाई स्वतन्त्र बनाउँदै जनाधिकार स्थापित गर्ने छ दशक लामो राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताएका गणेशमानलाई कुनै पनि पुस्ताले बिर्सन नहुने बताए । विसं २०४६ को जनआन्दोलनमा विभिन्न विचार बोकेका दललाई उनकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्ति गरेको चर्चा गरे ।

कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष माथवरसिंह बस्नेतले २०५४ सालमा स्थापना भएको समितिले तत्कालीन कटुञ्जे गाविसको सिफारिसमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले पारित गरी कित्ता नं ४२१ को एक सय ४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरेपछि उक्तस्थलमा गणेशमानको शालिक एवं वाटिका निर्माण भएको बताए ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५४ मा वाटिकाको शिलान्यास गरेपछि विसं २०७२ कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु एक करोडको लागतमा स्व सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भए पनि अनावरण गर्ने अवसर आज प्राप्त भएको उनले बताए ।

समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाको जीवनी झल्किने सङ्ग्रहालय, भ्यू टावर, वनभोजस्थल, आधुनिक बगैँचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य, स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका सङ्घर्ष र त्यागका बारेमा विस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक सहिदको जीवनी समेटेर राख्ने गरी सङ्ग्रहालय निर्माण, प्रजातान्त्रिक योद्धाहरूको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने-गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने थलोको रूपमा विकास गर्ने गरी रु ३४ करोडको गुरुयोजना तयार पारेको छ ।

यद्यपि करिब रु चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्वार निर्माण सम्पन्न भएको, सिँढी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोजस्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैँचाका रूपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पूरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया