‘यति एयरलाइन्सको विमान दुर्घटना हुनुमा मानवीय त्रुटि’
काठमाडौं – गएको वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।
पूर्व सचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ । पोखरामा गएको वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत–सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए । प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए ।