भारत झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ


नयाँदिल्ली – भारत झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटालासम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । हिजो दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गए राति मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो ।

ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको चार एकड भन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ । यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो ।

जग्गा घोटालासम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ । अभियुक्तले सरकारी अधिकारीसँग मिलेर भूमाफियाको नाममा ठगी गरी ती जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ । एजेन्सी

प्रतिक्रिया