पश्चिममा वर्षासँगै हिमपात : किसान खुसी, हवाई सेवा अवरुद्ध


काठमाडाैं – पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । जुम्लामा आज बिहान यस वर्षकै पहिलो हिमपात भएको छ । गएको वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गासहित जिल्लाभर झण्डै आधा फिट हिउँ जमेको छ ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका छन् । माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

माथिल्लो कर्णालीमा हिमपात शुरु भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । यसैबीच, हुम्लामा पनि गएरातिदेखि हिमपात भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अरु उच्च पहाडी भेगका केही ठाउँमा पनि हिमपात भएको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट झण्डै ३३ मिलिमिटर वर्षा मापन भएको छ । जसअनुसार डडेल्घुरामा ९.० मिलिमिटर, दिपायलमा ११.३ मिलिमिटर, धनगढीमा ६.५ मिलिमिटर, विरेन्द्रनगरमा ४.२ र जुम्लामा २.४ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ ।

प्रतिक्रिया