काठमाडाैंको ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला


काठमाडाैं – सङ्घीय राजधानी काठमाडाैंको मुटु मानिने ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्री व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको व्यवस्था सुदृढ बनाइएको बताए । उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए ।

‘जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहेपनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ,’- उनले भने । ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड-२०८० स्वीकृत गरेको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया