आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु
काठमाडाैं – वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ । दरबारमार्गमा रहेकाे तीनधारा पाठशालाबाट सुरु हुने यो यात्रा लगनटाेलमा गएर टुङ्गिन्छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन अपराह्न केलटोलमा रहेकाे जनबहालबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालानिर अग्लो रथ बनाइएको स्थानमा पुर्याइन्छ । त्यहाँबाट सेतो मच्छिन्द्रनाथलाई विधि पुर्याएर खटबाट निकालेर ३२ हात अग्लो रथमा राखी तानेर रथयात्रा सुरु गरिन्छ ।
आज पहिलो दिन घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोका, तेस्रो दिन लगनटाेल पुर्याइन्छ । लगनटाेलमा रहेकाे सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिरमा तीन पटक परिक्रमा गरिएपछि यो रथयात्रा समापन हुनेछ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सहकाल सुरु हुने धार्मिक विश्वास छ ।