अब हरेक हप्ता ५ नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं – सरकारले थप तीन देशका लागि हवाई उडान खुला गरेको छ । गत जेठ १३ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मङ्गलवारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो ।

यससँगै अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन्। चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुनेछन्।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले हप्तामा २ वटा नियमित उडान भर्ने छ। नेपाल एयरलाइन्सले हरेक हप्ताको सोमबार काठमाडौं–दोहा–काठमाडौं उडान भर्ने छ। यस्तै, हरेक हप्ताको बुधवार काठमाडौं–दिल्ली– काठमाडौं उडान भर्ने छ।

यस्तै, टर्किस एयरलाइन्सले हरेक बिहीबार इस्तानबुल–काठमाडौं–इस्तानबुल उडान भर्ने छ। कतार एयरवेजले हरेक हप्ताको सोमबार दोहा–काठमाडौं–दोहा उडान भर्ने छ।

यसै गरी एयर इन्डियाले हरेक हप्ताको शुक्रवार दिल्ली–काठमाडौं–दिल्ली उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै सरकारले वैशाख तेस्रो सातादेखि अन्तर्राष्ट्रिय हवाई उडानहरू बन्द गरेको थियो । तर नेपाल एयरलाइन्स र एयर इन्डियाले नेपाल–भारतबिच हप्तामा एक–एकवटा उडान भर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *